विद्यालयको परिचय

 

१. विद्यालयको परिचय

१.१ ऐतिहासिक पृष्ठभूमी

भनिन्छ  ‘ शिक्षा मानवको तेस्रो आँखा हो ।’ तर साविक सूर्यपटुवा गा.वि.स. वडा नं. ९ (ख) मा विद्यालय नभएर यस क्षेत्रका बालबालिकाहरूका लागि शिक्षा आर्जन गर्नमा कठिनाई भएको महसुस गरि यहाँको भौगोलिक बनौटका आधारमा समेत एउटा विद्यालय हुनपर्ने आवश्यकता देखिएपछि वि.सं. २०४५ साल कार्तिक १ गतेका दिन श्री त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवाका भू.पु. प्रधानाध्यापक श्री नरेन्द्र प्रसाद शर्माको अध्यक्षतामा बैठक बसी विद्यालय संचालन गर्ने निर्णय गर्नुका साथै निजकै सक्रियतामा हाल रजवारा गाउँको सामुदायिक भवन रहेको ठाउँमा एउटा टहरो निर्माण गरी विद्यालय संचालन गरिएको हो । साथै मिति २०४५ साल पौष महिनाको पहिलो हप्तामा जिल्ला शिक्षा कार्यालय बर्दियाबाट  कक्षा १ संचालनको अनुमति प्राप्त गरेको हो ।  शै.स.२०४६ मा कक्षा २ र क्रमश : कक्षा ३ ,, ५ सम्म लगातार अनुमति प्राप्त गरी कक्षा ५ वि.सं. २०५१ सालसम्म सोही स्थानमै कक्षा संचालन भएको पाइन्छ भने वि.सं. २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोगले यस विद्यालयको नाममा ०–१०–० (दश कठ्ठा ) जग्गा छुट्याई दिएपछि यो विद्यालय हालको स्थानमा सरेर नियमित रुपले वि.सं. २०६५ सालको शैक्षिक सत्रसम्म कक्षा ५ सम्मको कक्षा संचालन हुँदै आएकोमा शैक्षिक सत्र २०६५ सालको पौष महिनाको २५ गते तत्कालिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री हाउ थारुको अध्यक्षतामा वि.व्य.स., बुद्धिजीवि तथा अभिभावकहरूको भेलाले शै.सं २०६६ बाट कक्षा ६ संचालनको अनुमति माग गर्ने तथा धरौटी रकम तथा शिक्षक तलबका लागि फरदङ्गा सामुदायिक वनले आवश्यक सहयोग जुटाउने निर्णय भएपछि कक्षा ६ संचालनको माग गरेर शै.स.२०६६ मा कक्षा ६ क्रमश :  कक्षा ७ र ८ संचालन अनुमति लिएसंगै शै.स. २०६८ मा आधारभूत तह    (निम्नमाध्यमिक तह) को कक्षा ८ को परीक्षामा यस विद्यालय पहिलो पटक समाबेश गरिएदेखि हालसम्म आधारभूत तहको पठन पाठन भइरहेको छ ।

  यस विद्यालयको स्थापनाका लागि संस्थापकहरू विशेष गरी श्री नरेन्द्र प्रसाद शर्मा, श्री केशर गिरी, ऐनलाल बस्याल लगायत तत्कालिन यस क्षेत्रका अगुवा बुद्विजीवि तथा संस्थापक प्रधानाध्यापक स्वर्गीय ईश्वरी प्रसाद बस्यालको महत्वपूर्ण योगदान रहेको पाइन्छ । यस विद्यालयको नियमित विकास गर्दै हालसम्मको अवश्थामा पुर्याउनमा यस विद्यालयको वि.व्य.स. अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गर्नुहुने श्री नवराज थापा, केशर गिरी, शिवप्रसाद थारु, धनीराम रावत, हाउ थारु, प्रेम थापा , कुशल दरलामी, विर बहादुर चौधरीको महत्वपूर्ण योगदान रहेको पाइन्छ भने वर्तमान वि.व्य.स.अध्यक्ष श्री लक्ष्मणप्रसाद खनाल लगायत रजवारा सामुदायिक वन, फरदङ्गा सामुदायिक वन, अमर महिला सामुदायिक वन, कुस्मिनिया सामुदायिक वनका अध्यक्षहरुको योगदान पनि महत्वपूर्ण रहेको देखिन्छ । त्यसै गरी संस्थापक प्रधानाध्यापक स्वर्गीय ईश्वरी प्रसाद बस्यालको कार्यकाल पश्चात क्रमश :    श्री शेर बहादुर चौधरी, श्री नारायण प्रसाद बस्याल, श्री उमेश चौधरी हुँदै  हाल श्री प्रशुराम चौधरीले हाल यस विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै रहनुभएको छ ।

१.२ भौगोलिक अवस्था

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको पूर्वमा गुलरिया नगरपालिका, पश्चिममा कर्णाली नदी  उत्तरमा  बबई नदी र दक्षिणमा भारतको उत्तर प्रदेशको बहराइच जिल्लासँग सीमाना जोडिएर रहेको मधुवन नगरपालिका वडा नं. २ रजवारामा यस विद्यालय अवस्थित रहेको छ । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिब १९ किलोमिटर पश्चिममा नेपालगञ्ज कोठियाघाट बाटोमा पर्ने ओराली बजारबाट करिब ४ किलोमिटर उत्तरतिर जंगलको छेउ – छेउ गएमा यो विद्यालय  भेटाउन सकिन्छ 

 

१.३ विद्यालय रहेको समुदायको बनोट

यस विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश थारु जातिको बाहुल्यता रहेको छ । अन्य जातिहरूमा बाह्मण, गुरूङ्ग, मगर, थारू, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोबास गर्दछन् ।  सुकुम्बासी र मुक्त कमैयाको बसोबास रहेकोले यहाँका बासिन्दाहरूको आर्थिक अवस्था कमजोर छ । हिन्दू, बौद्ध, तथा क्रिश्चियन धर्मावलम्बीहरू रहेको यो क्षेत्रभित्र विशेष गरी मुख्य चाडवाडका रूपमा दशैँ, तिहार, माघी, होली, ल्होसार र क्रिसमस डे मनाउने गरेको पाइन्छ । ग्रावेल बाटो, बिजुली बत्ती र सञ्चार ( मोबाइल) सेवाको सुविधा रहेको यस क्षेत्रको साक्षरता प्रतिशत पनि न्युन रहेको छ । यस क्षेत्रको मुख्य पेशा कृषि रहे तापनि कोही मानिसहरू नेपाल सरकारको सेवामा संलग्न छन् भने कोही छिमेकी राष्ट्र भारत लगायत मलेशिया, कतार, दुबई, इजरायल, जापान, अमेरिका क्यानडा जस्ता अन्य मुलुकमा सम्म रोजगारीका लागि जाने गरेका पाइन्छ ।

१.४ विद्यालयको सेवा क्षेत्र

सेवा क्षेत्र भन्नाले कुनै पनि विद्यालयमा अध्ययन गर्ने अधिक बालबलिकाहरू बसोबास गर्ने समुदाय तथा विद्यालयमा आर्थिक, भौतिक, सामाजिक, शैक्षिक तथा विद्यालयको चौतर्फी विकासमा निरन्तर टेवा पुर्याई रहेको समुदायलाई जनाउँछ । तसर्थ यस विद्यालय सेवा क्षेत्रअन्तर्गत मधुवन नगरपालिकाको वडा नं. २ भित्र रहेको गाउँ रजवारा, अम्मरपुर तथा सुन्दरपुरका बालबालिकाहरू यस विद्यालयमा पठनपाठन गर्न आउँछन् ।

१.५ विद्यालयमा सञ्चालित कार्यक्रम

वि.सं. २०४५ सालमा अनुमति पाएको यस श्री सूर्य आधारभूत विद्यालयमा बालविकास देखि आधारभूत तहको कक्षा ८ सम्म अध्ययन अध्यापनका निम्न कार्यक्रमहरू सञ्चालित छन् ।

क) बाल विकास :  रमणीय र मायालु वातावरणमा शैक्षिक समग्रीको  माध्यमबाट शिक्षण गरिने,

ख) कक्षा १ देखि  ८ सम्म विद्यार्थी केन्द्रित विधि प्रयोग गरी रमणीय वातावरणमा बालमैत्री सिकाइबाट सिकाइ गरी उद्धेश्य पुरा गरिने । शनिबारे, त्रैमासिक, अर्धवार्षिक, वार्षिक परीक्षा निन्तर मूल्याङ्कनका जस्ता मूल्याङ्कनका साधनहरु प्रयोग गरी मूल्याङ्कन गरिनुका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्ने कार्य गरिने गरिएको छ ।


Post a Comment

0 Comments